बिर्तामोड, नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव)सँग तत्काल राजनीतिक संवाद गर्न झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई आग्रह गरेका छन् ।
राजनीतिक संवाद मार्फत नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा ल्याई अहिले देखिएको समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्न उनीहरुले सुझाएका हुन् । नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा आउने  वातावरण सरकारले बनाउनुपर्नेमा आज आइबार बिर्तामोडमा आयोजित छलफलका सहभागीको जोड थियो ।
समस्याको शान्तिपूर्ण समाधान र वार्ताको विकल्प नभएको भन्दै उनीहरुले त्यसका लागि सरकार र नेकपा (विप्लव) उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
नेकपा (विप्लव)लाई शान्तिपूर्ण गतिविधि गर्न सुझाव दिँदै अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरुले   उक्त राजनीतिक समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु गलत भएको टिप्पणी गरे । नेकपा (विप्लव)का कार्यकर्तामाथि झुटा मुद्दा लगाउने काम राज्यले बन्द गर्नुपर्ने भन्दै उनीहरुले सरकार र नेकपा (विप्लव)लाई जिम्मेवार बन्न तथा राजनीतिक चरित्र देखाउन खबरदारीको आवश्यकता समेत औल्याएका छन् ।
नेकपा (विप्लव)का गतिविधि हिंसात्मक र गलत भएको पनि उनीहरुको टिप्पणी थियो । यो राजनीतिक समस्या भएकाले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्नेमा जोड दिँदै उनीहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरे । नेकपा (विप्लव)का गतिविधि, उत्पन्न परिस्थिति र शान्तिपूर्ण निकासका विकल्पहरु विषयमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा सहभागीहरुले संवादहिनता र दमन त्यागी वार्ता र शान्तिपूर्ण बाटो मार्फत समस्या समाधान गर्नुको विकल्प नभएको बताए ।
राज्यले जिम्मेवार ढंगले वार्ता र समस्या समाधानको पहल गर्नुपर्नेमा उनीहरुको जोड थियो । नेकपा (विप्लव)लाई तत्काल हिंसात्मक गतिविधि अन्त्य गरी शान्तिको बाटोमा आउन समेत उनीहरुले आग्रह गरे ।  छलफलमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनाल, मानव अधिकार सञ्जालका नेता विष्णुप्रसाद खरेल, बाम बुद्धिजीवी लोकबन्धु कन्दङ्वा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल बार एसोसिएन झापाका उपाध्यक्ष नारयणप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, स्वतन्त्र राजनीतिकर्मी सुरेन्द्र कार्की, महिला सुरक्षा दवाब समूह झापाकी अध्यक्ष शारदा रिजाल, वीरता जेसीजका अध्यक्ष विशाल थापा, वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेलले विद्रोहले समस्या समाधान नहुने भन्दै वार्ताबाटै शान्तिपूर्ण मार्ग अवलम्बन गरी राजनीतिक मूलधारमा आउन  नेकपा (विप्लव)लाई आग्रह गरेका छन् ।
उनीहरुले मुलुकभित्रै छुट्टै स्वतन्त्र राज्यको माग गर्ने सिके राउत समूहलाई राजनीतिक मूलधारमा ल्याउन सक्षम सरकारले नेकपा (विप्लव)लाई प्रतिबन्ध गराउनु भनेको विद्रोलाई नै मलजल हुने बताउँदै वार्ताको वातावरण बनाउन आग्रह गरेका हुन् । उनीहरुले सरकारलाई संवेदनशी, पारदर्शी र जनमैत्री हुन समेत सुझाव दिएका छन् ।
सरकार विद्रोह र हिंसाको कारण नभई समस्याको शान्तिपूर्ण समाधान गर्ने जिम्मेवार पक्ष हुनुपर्नेमा उनीहरुको जोड थियो । साथै नेकपा (विप्लव)ले पनि आफ्ना अराजनीतिक गतिविधि बन्द गर्नुपर्ने भन्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि नागरिक स्तरबाट दवाबको खाँचो औल्याएका छन् ।
सरकार र नेकपा (विप्लव)का गतिविधिले अहिले बालबालिका, महिला र आम सर्वसाधारणले दुःख व्यहोर्नु परेको भन्दै त्यो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएको छ । मुलुकले अब विद्रोह थाम्न नसक्ने भन्दै उनीहरुले सार्थक र परिणाममुखी वार्ता मार्फत सबै असन्तुष्ट पक्षका माग र भावनाको सम्बोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया