विराटनगर, १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा शनिवार पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिका– २ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । स्थानीय राम लिम्बूको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका– ४ बस्ने लोकेन्द्र लिम्बूको छोरा १३ वर्षीया ईदम लिम्बुको मृत्यु भएको वडा प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो पौने ४ बजे साथीहरुसंग खेल्न गएका लिम्बूको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
उता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १५ माला भन्ने स्थानमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर २३ महिने नाबालिकाको मृत्यु भएको छ । गोबिन्द बि.क. का २३ महिना नाबालिका तुलसा बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

















