- राज बिश्वास

कसैको मन छोटा भेटिन्छन् कसैको लामा भेटिन्छन्
आजभोली घरमा होइन, आश्रममा आमा भेटिन्छन्

को संग के गुनासो गर्नु – के नक्कली छैन र यहाँ ?
पगाली हेर्नुस्, सुनमा पनि पित्तल र तामा भेटिन्छन्

दुश्मनको घर दस चोटी जानू – आमा भन्नुहुन्थ्यो
उसलाई यस्तो लागोस् अझै कृष्ण सुदामा भेटिन्छन्

बालुवाटार अगाडी एकछिन उभिएर गन्नुहोस् त
यौटा बाँदरको अघिपछी कतिवटा मामा भेटिन्छन्

अन्तिम बेला सम्म पनि बा’ ले ‘छोरो’ भन्दै थिए
छोरो भन्छ अब बल्ल समृद्धिका खामा भेटिन्छन्

यौटा पागल तिमी र म – अर्को हाम्रो सरकार छ
भन्छ दौरा सुरवाल भित्र अब छोटा जामा भेटिन्छन्

आज त्यही ओकलेको गाँस खान आएको छु आमा
अमेरिकामा त मन होइन ट्रम्प र ओबामा भेटिन्छन्

 

तपाईको प्रतिक्रिया