सुरुङ्गा , राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गतेदेखि मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको छ ।

राजसंस्था सहितको सवै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको हो । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले संविधानमा रहेको धर्म निरपेक्षता खारेज गर्दै पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनु पर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री लिङ्देनले सरकारसंग विभिन्न २२ वुँदे माग अघि सार्दै स्वभिमान यात्रा शुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । फागुन ३० गतेसम्म सञ्चालन हुने यात्रा ३६ जिल्लामा पुग्ने महामन्त्री लिङ्देनले बताउनुभयो । दुई हजार आठ सय ७ किलोमिटर दूरीको यात्राका क्रममा परम्परागत संस्कृति एवम् राष्ट्रियता झल्काउने विभिन्न झाँकीहरु समेत प्रर्दशन गर्ने बताइएको छ । यात्राको क्रममा प्रत्येक दिन यात्राम प्रारम्भ र विश्राममा धार्मिक अनुष्ठानका साथ सम्पन्न गरिने लिङ्देनको भनाई छ ।

राप्रपाले सरकारसंग पेश गरेका मागहरुमा २०४७ साल यता उच्च पदस्थ व्यक्तिहरुको सम्पक्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठनका लागि माग गरेको महामन्त्री लिङ्देनले बताउनुभयो । उहाँले हाल आरक्षणको सुविधाबाट बञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जाति समूहलाई समेत सवै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षणको माग गरिएको र कक्षा १० सम्म नौतिक र संस्कृति शिक्षा अनिवार्य गर्न सरकारसंग माग गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

राप्रपाले यात्राको समापन भने देशका ७७ वटै जिल्लामा गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया