झापा, मेचीनगर–१० स्थित आम्दा मेची अस्पतालका चिकित्सकको लापरवाहीका कारण एक बालकको मृत्यु भएको परिवारले दावी गरेको छ ।

सामान्य वान्ता आएपछि उपचारका लागि अस्पताल ल्याइएका मेचीनगर–९ का १० वर्षीय गोपाल रिजालको चिकित्सकले विरामीको अवस्था बुझ्न नसक्दा सोमबार बिहान मृत्यु भएको बताइएको छ ।

उपचारमा संलग्न डाक्टरको लारपरवाहीका कारण बालकको मृत्यु भएको मृतकका बुवा नकुल रिजालले आरोप लगाउनुभयो ।

उपचार गर्न नसक्ने जानकारी डाक्टरले समयमा नगराउँदा आफूले एक्लो छोरो गुमाउनु परेको उहाँको भनाई छ ।
नानीलाई अस्पतालमा औषधि र सुई बढी नै दिएका थिए । घटनाक्रम सुनाउँदै उनले भने नानीको अवस्था सामान्य थियो, तर, धेरैवटा सुई लगाएपछि नानी अचानक बेहोस भयो उहाँले भन्नुभयो–‘ उनले उपचार गर्न नसक्दा अन्यत्र पठाउनुको सट्टा अस्पतालमा राखेर उपचार गराउँदा छोराको मृत्यु भएको हो।

आइतबार बिहान अस्पताल भर्ना गरिएका गोपालको दिउँसोसम्म स्वास्थ्यमा सुधार आए पनि राती करिब २ बजेतिर अचानक स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टरलाई खबर गर्दा चिसोको कारण भन्दै पंखा बन्द गर्न आग्रह गरेका थिए ।चिकित्सकको असावधानीले बालकको मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले अस्पताल परिसरमा शव राखेर नारावाजी गरेका थिए ।

आक्रोशित स्थानीयको भीँड नियन्त्रण गर्न अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा आउन नसकेपछि पीडित पक्षलाई न्याय दिलाउन मेची उद्योग वाणिज्य संघमा बसेको सर्वपक्षीय बैठकले उपचारमा संलग्न डाक्टर तत्काल निलम्बन गरी कार्वाही प्रक्रिया अगाडी बढाउन पहल गर्ने निर्णय भएको छ ।

भेलाले पीडित परिवारलाई तत्काल किरीया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप राहत प्रदान गर्न सहयोग जुटाउन पहल गर्ने सहमति भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष तथा छानवीन समितिका संयोजक ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकको उपचारमा प्रयोग गरिएको औषधि र सुईका बारेमा अस्पताल प्रशासनसँग बुझ्ने निर्णय भएको छ । भेलामा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्का, १० का वडा अध्यक्ष सुदय पनेरु, राजनीतिक दलका तर्फबाट प्रकाश भण्डारी, पीडित परिवारको तर्फबाट चन्द्रमणि पौडेल, उमेश आचार्यलगायतको उपस्थिति थियो ।

छानविन समितिले अस्पतालको कमजोरी पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्ने बताइएको छ ।

मेचीनगर ९ खुट्टिडाँगी निवासी बालक स्थानीय पारिजात पब्लिक स्कूलको कक्षा ३ मा अध्ययनरत् थिए । स्कूलका प्रिन्सिपल विनोद प्रधानले बालक गोपाल पढाईमा तेज र अनुशासित रहेका बताउनुभयो ।

तपाईको प्रतिक्रिया