बिर्तामोड, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले आफूलाई बद्नाम बनाउने उद्देश्यले भ्रमपूर्ण समाचार सञ्चारमाध्यममा आएको बताउनुभएको छ ।

‘बलात्कारको मुद्दा मिलाउछु भन्दै ७ लाखलिएर गाउँपालिका प्रमुख फरार’विषयक समाचार सञ्चारमाध्यममा आएपछि उक्त घटनामा आफ्नै कुनै संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले आज एक प्रेस विज्ञप्ति समेत जारी गर्दै घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

हल्दीबारी गाउँपालिका वडा नम्बर २ मा बलात्कार मुद्धाको विषयमा प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानवीन गर्नका लागि अभियोग लागेको व्यक्तिलाई हिरासतमालिई अनुसन्धान प्रकृया अघि बढाएको जानकारी समेत सञ्चारमाध्यममै प्रकाशित समाचारबाट मैले थाहा पाएको हुँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको विषयमा म आफैँ समेत अनभिज्ञ रहेको छु ।’

अध्यक्ष लिङ्देनले आफ्नो व्यक्तिगत तथा संस्थागत चरित्र समेत हत्या गर्ने अभिप्रायले मिडियामा कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशन गरिएको बताउनुभयो । उहाँले तथ्यहीन र चरित्र हत्या गर्ने सञ्चार गृहलाई कानूनी कारवाही अघि बढाइदिन सरोकारवाला निकायसँग अनुरोध समेत गरेका छन् ।
बलात्कार जस्तो जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानून बमोजिम अनुसन्धान गरी कानूनी कठघरामा ल्याई पीडित पक्षलाई न्याय दिलाउनका लागि उहाँले माग समेत गर्नुभएको छ ।

१४ बर्षीया बालिकालाई जबरजस्ती करणी बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बलात्कारको घटना मिलाउने आर्थिक चलखेल गरेका जनप्रतिनिधिसहित अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका २ बस्ने ६५ बर्षीय राजेन्द्र अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आरोपी अधिकारीलाई आइतबार राती साढे ९ बजे हल्दिवारी प्रहरी चौकीले पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया