- इन्द्रसिंह राजवंशी

चाङमुनि आन्धुवा खोलाको उर्लिदो भेल । आफ्ना लालाबालालाई काखी च्यापेर चाङमाथि ज्यान जोगाउन तड्पिन्छन् मुसहरहरु । बाढीको कहर नथामिन्जेल कयौं पहर त्यसरी नै बित्छ चाङमा । भोक, तिर्खा , निद्रा सबै ‘हराम’ । आन्धुवा खोलाको भेलबाट बितामोड ३ को सिंगो मुसहरबस्ती टापुमा परिणत हुन्छ । बर्षायाम शुरु भएपछि आन्धुवाको भेलमा उनीहरु पटकपटक डुब्छन् । भगवान भरोसामा बाँच्न बाध्य मुसहरहरु बर्षा सकिएपछि भने पुनर्जन्म पाएको अनुभूति गर्छन् ।
ज्यानको जोखिम मोलेर दश परिवार मुसहरहरु त्यहाँ बसेको पाँच बर्ष भइसक्यो ।ग्रामीण प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गामा ती मुसहरहरु बिराटपोखरबाट बसाइ सरेर आएका थिए । प्रशिक्षण केन्द्रको चार बिगाहा जग्गा मोहीको रुपमा मुसहरहरुले कमाउँदै आएका छन् । बस्ती बसालेको पहिलो बर्ष खासै बाढी आएन । अर्को बर्ष बाढीले बबन्डर मच्चायो । तीन–चार दिनको लगातार झरीबाट उर्लिएको भेलले मुसहरबस्ती आधा डुब्यो । बस्तीको बीचबाट कमर–कमर पानी बग्न थाल्यो । त्यतिबेलाका बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रबिन्द्र वस्ती, नायबसुब्बा मेघराज बास्तोला, माओवादी केन्द्रका नगर इन्चार्ज अरुण श्रेष्ठको सहयोगमा बाढीपीडित मुसहरहरुलाई सैनिकमोडमा दुई दिनसम्म राख्यौं । त्यसको अर्को बर्ष पनि उनीहरु त्यसरी नै डुबे । तर, सहयोग गर्न कोही पनि अगाडि सर्न सकेनौं ।
बिर्तामोड नगरपालिकाको ‘मानचित्र’ मा त्यो ‘झोपरपट्टी’ पर्नसकेको धेरै भएको छैन । बिर्तामोड नगरपालिकाको कार्यालयदेखि करीब एक किलोमिटर दक्षिणमा अवस्थित मुसहरवस्तीका बारेमा एक बर्षअघि मात्र हाम्रा जनप्रतिनिधिलाई ज्ञात भएको हो । त्यस पश्चात् नगरपालिकाले सामान्य चासो राख्न थाल्यो । गत बर्ष नगरपालिकाले आन्धुवा खोला सफा गरेर डील मजबुद बनाईदिएपछि मुसहरवस्तीमा बाढी पस्न पाएन । त्योसँगै नगरपालिकाकाले आन्धुवा खोलामा फलामे पुल निर्माण गरिदियो । जसबाट उनीहरुले आवतजावतमा केही सहजता महसुस गरे । त्यस्तै बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको पहलमा मुसहरवस्तीमा खानेपानी र शौचालयको व्यवस्था मिलाईयो । त्यसबाट बल्ल उनीहरुले थोरै भएपनि नागरिक भएको अनुभूति गर्न थाले ।
आन्धुवा खोलाको बगरमा रहेका अति विपन्न मुसहरहरुको समस्या बग्रेल्ती छन् । मुसहरवस्ती पुग्ने बाटो छैन । उनीहरुले प्रयोग गर्दै आएको आधा बाटो, जुन २०२१ सालको पुरानो हो । त्यसलाई पनि मास्न लागिएको छ । बिजुली बत्ती छैन । एक जना माननीय सांसदले कार्तिक महिनाभित्र मुसहरवस्तीमा बिजुली बालेर देखाउने गत बर्ष उद्घोष गरेका थिए । उनले गरेको प्रतिबद्धताको म्याद सकिएको ६ महिना बितिसक्यो । बत्तीको अझै टुंगो छैन । उनको त्यो आश्वासनलाई मुसहरहरुले सम्झिरहेका छन् । दशकौंदेखि बसोबास रहेपनि नागरिकता पाउन सकेका छैनन् । शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ । ६० प्रतिशतभन्दा बढी निरक्षर छन् । लोग्ने मानिसहरुको मदिराको कुलतबाट महिलाहरु प्रताडित छन् । जनचेतनाको अभाव छ । चरम गरिबीले सबै आक्रान्त छन् । यो भयो, बिर्तामोड ३ का मुसहरहरुको कारुणिक कथा–व्यथा । उनीहरु पहिला बसेको साविक ठाउँ बिर्तामोड १० बिराटपोखरका बाँकी मुसहरहरुको अवस्था झन कहालिलाग्दो ।
सैनिकमोडदेखि दक्षिण, ठाडो कालोपत्रे सडकको छेउमा बर्षौदेखिको त्यो पुरानो मुसहरवस्ती उराठ र उजाड बन्दै गएको छ । वरिपरि महलैमहल, बीचमा भत्किसकेका मुसहरहरुका झुपडी । त्यहाँबाट पनि लखेट्ने षड्यन्त्र हुँदैछ । दुवै टोलका १७ घरपरिवार निर्धन मुसहरहरु हिजोभन्दा आज झन् गएगुज्रेका । नेताहरु फलाक्न छोड्दैनन्– समृद्ध नेपाल र सुखी नेपाली । आफू र आफ्ना आसेपासे मात्रै धनी र सुखी भएर समृद्ध नेपाल बन्छ र ? हिजो विपन्न अवस्थाबाट ‘सर्वहारा’ को राजनीति थाल्नेहरु आज ‘पूंजीपति’ भएका छन् । जनता र देशलाई ‘हरिकङ्गाल’बनाईसके ।
केही महिनाअघि एउटा कार्यक्रममा जाँदा मलाई मुसहर जातिका प्रतिनिधि भनेर आयोजक मित्रले आशनग्रहण गराए । म आदिवासी राजवंशीको छोरोलाई त्यसरी मधेसी दलित समुदायको मुसहर भन्दा मलाई किंचित पनि अफ्ठ्यारो लागेन, न हितनाबोध नै भयो । मैले मुसहरका लागि थोरे बहुत सहयोग गर्दा यो परिचय पाएको मेरो बुझाई रह्यो । यस लेखमा मैले बिर्तामोड ३ र १० मा रहेका मुसहरवस्तीका पीडा र मेरो अनुभवलाई पाठक समक्ष राख्ने जमर्को गरेको छु । ठूल्ठूला र गहन विषयहरुले नै सञ्चार माध्यममा ठाउँ पाउँछन् । पाठकहरुको रुचि पनि त्यसमै रहन्छ । तर, साना मान्छेको झिनामसिना कुरा भन्दै आम सर्वसाधारणको समस्यालाई नजरअन्दाज गर्न मिल्दैन । धनीहरु झन् सभ्रान्त अनि गरिबहरु अझ कंगाल बन्दै जाने हो भने नेपाल कहिल्यै समृद्धशाली बन्न सक्दैन । मेरो घरबाट करीब ५ सय मिटर पश्चिम, खेतको बीचमा रहेको मुसहरवस्तीमा दिनमा एक पटक जानैपर्ने दिनचर्या बनेको छ । कहिले ट्युबवेल गाढिदिन, कहिले शौचालय र पुल बनाईदिन त कहिले श्रीमान–श्रीमतीबीचको झगडा मिलाउन । यहाँसम्म कि विरामी पर्दा एम्बुलेन्स बोलाईदिन र उपचारमा सहयोग गर्नुपर्ने जिम्मेवारी समेत आइरहन्छ । मुसहरप्रति यसरी मरिमेट्दा कोही छिमेकीले हौसला दिन्छन् भने कोहीले निरुत्साहित पार्ने काम गर्छन् । भन्छन्– यी मुसहरहरु यस्तै हुन् जति गरेपनि सुध्रिदैनन् । मुसहरहरुको जीवनस्तरलाई थोरै भएपनि माथि उठाउन प्रयासरत मलाई यस्ता शब्दप्रहारले बिचलित पार्न खोज्छ । के साँच्चै मुसहरहरु कामै नदिने जाति हुन त ?
म गम्भीर भएर सोच्छु– जात धर्म त हामीले नै बनाएका हौं । एउटा जाति सुध्रिने र अर्को नसुध्रिने हुन्छ र ? पक्कै हुँदैन । यदि हामीले संवाहकका रुपमा सहयोग गर्न सक्यौं भने, जनचेतना दिन सक्यौं भने मुसहरहरुमा पनि परिवर्तन आउँछ । धुर्मुस–सुन्तली र रबि लामिछानेले सहयोग नगरेको भए रौतहट, महोत्तरी र सप्तरीका मुसहरहरु हामी समान हुन सक्ने थिएनन् होला । हाम्रै मुसहरवस्तीमा परिवर्तनको संकेत देख्न सकिन्छ । हिजो जहिँतहिँ दिसापिसाब गर्ने मुसहरहरु अहिले शौचालय जान्छन् । विहान हातमुख धोएर चिया पिउँछन् । सबैभन्दा घृणित विराटपोखर बस्ने जासो चौधरी ऋषिदेवकै उदाहरण दिन चाहन्छु । सात जना बालबच्चा लिएर खुल्ला आकाशमुनि सुत्न बाध्य जासोले आफ्ना नानीहरुलाई स्कुल पठाउन थालिन् । दुई महिनाअघि खाने अन्न, लगाउने लुगा र ओत लाग्ने ठाउँ नभएर उनको परिवार ‘महाविजोग’ मा रहेको थियो । अहिले जासोमा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना आउनु परिवर्तन होइन र ?
यी सबै उपलब्धिहरु विभिन्न संघसंस्था, जनप्रतिनिधि र सहयोगीहरुको योगदानबाट सम्भव भएको हो । मैले धन्यवाद दिनैपर्छ– अमेरिकन नागरिक टेरि मिकेस्कालाई । जसले मुसहरहरुलाई सोलार दिए । मुसहरहरु अध्याँरोमा बस्नुपर्ने समस्या केही हदसम्म समाधान भयो । त्यस्तै मुसहरहरुलाई सहयोग गर्दै आउनुहुने संवाद समूह, छठ सेवा समाज, बिर्तामोड उद्योग वाणिज्य संघ, लायन्स क्लब, बिर्ता लेडी जेसीज, हेन्स टू चेन्ज, नेपाल रेडक्रस सोसाइटी, बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र, एमकेके ग्रुपलगायतका संघसंस्था पनि धन्यवादका पात्र छन् । त्योसंगै मुसहर र मुसहर वस्तीको समस्या उठान गरी सरोकारवाला र सहयोगी हातहरुलाई ध्यानाकर्षण गराउने सञ्चारकर्मीहरुको योगदान सबैभन्दा महत्वपूर्ण रहेको छ ।
विगतलाई फर्किएर हेर्दा करीब ४ दशकअघि हामी ती मुसहरहरुजस्तै थियौं । कुनै कुनै जाति परिवर्तनको छलाङ्ग मार्न सफल भए , मुसहरहरु यथास्थितिमा छन् । अवसरले चेतनाको विकास गराउँछ । सोझासिधा मुसहरहरुलाई अवसरका बारेमा के थाहा । अर्को कुरा उनीहरु कामै नदिने बेकाम्मे होइनन् । खेतीपातीमा मजदुरी गराउन, विहेबटुलो र मरिमराउमा धन्दा गराउन हामी तिनै मुसहर र मुसहर्नीलाई बोलाउँछौं । आखिर उनीहरुले पनि हामीलाई सहयोग गरेका छन् नि । जातको आधारमा व्यवहार र सम्मान निर्धारण गरिनु हुँदैन । त्यसकारण पछि परेका र पारिएका मुसहरहरुलाई घृणा होइन, माया र सद्भावको भावना राखौं । उनीहरुलाई समाजको हिस्सा मान्न नसकेपनि मानव सम्झेर मानवताको व्यवहार गरौं ।

                                                                                         (राजवंशी, मुसहर वस्ती विकास निर्माण समितिका अध्यक्ष हुन् । )

तपाईको प्रतिक्रिया