- किशोरकुमार लामा

लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको छ । प्रहरीको लागू औषध कानुन कार्यान्वयन नियन्त्रण ब्युरोले काठमाडौँमा लागू औषध कोकिन र मनोदीपक पदार्थ एम्फेटामिन उत्पादन गर्ने प्रिकर्सर रासायन स्युडोएफिड्राइन ४९३ केजी छापा मारेर नेपाली तस्करबाट बरामद गरेको छ, यो प्रशंसायोग्य कार्य हो ।

संयुक्त राष्ट्रसंघले २५ प्रकारका प्रिकर्सर रसायनहरू निषेधित गरेको छ, जसमा प्रिकर्सर रसायन एसेटिक एनहाइड्रेड अफिमलाई लागू औषध हेरोइन बनाउन र लाइसर्जिक एसिड एलएसडी उत्पादन गर्न आवश्यक पर्दछ । यस प्रकारको प्रिकर्सर बरामद हुनु गम्भीर जनसरोकारको विषय हो ।

यस प्रकारको प्रिकर्सर रासायन नेपालमा पहिलोपटक बरामद भएको र अन्तरदेशीय संगठित अपराधको सञ्जालसँग जोडिएको हुनसक्ने सम्भावना छ । मुलुकको राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने परिवर्तित प्रवृत्तिलाई इंकित गर्छ । यसको अनुसन्धानको गहिराइमा पुगेर यथार्थको निष्कर्षमा पुग्न आवश्यक छ । विश्वमा सबैभन्दा बढी दुव्र्यसन हुने लागू औषधहरूमा गाँजा र एम्फेटामिन पर्दछ ।

लागू औषधको व्यापारबाट आर्जित धनराशिको गलत कार्यहरूमा भएको दुरुपयोगले मानव मान्यतालाई अवमूल्यन गराई, युवा समूहलाई लागू औषधको लतमा फसाएर राष्ट्रको जनस्रोतलाई विनाश, विधिको शासनमा दबाब, आतंकवाद, सत्ता परिवर्तन गर्न, भ्रष्टाचार संस्कार, आपराधिक घटनामा वृद्धि, केही राष्ट्रहरूले गोप्यरूपमा आफ्नो प्रभुत्व कायम गर्न निरंकुश शासकहरूलाई लागू औषध कारोबार गर्र्न, संगठित अपराधी समूह परिचालन गर्न परोक्ष तरिकाले संरक्षण प्रदान गर्छन् ।

पानामा राज्यका शासक पूर्व जनरल नोरिएगा लागू औषध अपराधमा संलग्न थिए । हातहतियार खरिद गर्न, तस्करी कार्य सहज बनाउन उच्च ओहदाका कर्मचारीलाई घूस खुवाउन र नमानेमा भाडाका हत्यारा (मर्सनरीहरू) द्वारा हत्या गराउँछ । दुव्र्यसनले युवायुवती जिउँदो मुर्दासरह भएका छन् । लागू औषधहरूको सदुपयोगले मानवहरूको जीवन रक्षा गर्न सकिन्छ । लागू औषधलाई असर गर्ने आधारमा शिथिलात्मक, उत्तेजनात्मक र भ्रमात्मक भन्ने गरिन्छ ।

अफिम, मर्फिन, हेरोइन, डाइजेपाम, निट्राजेपाम गाँजा, भाङ शिथिलात्मक, कोकिन, एम्फेटामिन, मेथाफेटामिन उत्तेजनात्मक र एलएसडी, मेसकालिन, म्याजिक मसरुम भ्रमात्मक लागू औषध हुन् । शिथिलात्मक औषधी पीडानाशक हुन्, चिकित्सकहरूले अत्यधिक पीडा भएका बिमारीहरूलाई पीडा कम गर्न मर्फिन, मेथाडोन प्रयोग गर्छन् ।

बिमारीलाई शल्यक्रियापश्चात् पीडानाशक औषधी प्रयोग गरिन्छ । यसैगरी बिरक्तिएका, दुव्र्यसनी, मानसिक असन्तुलन भएकालाई चिकित्सकहरूले एन्टि डिप्रेसेन्ट औषधीहरू प्रयोग गरेर उपचार गर्छन् । अफिम, हेरोइनका लागि पप्पी बिरुवा खेती हुने दुई प्रमुख स्थानहरूमा मध्य पूर्व एसियास्थित पाकिस्तान, अफगानिस्तान, इरान देशहरूको सीमा क्षेत्रलाई गोल्डेन क्रिसेन्ट, दक्षिणपूर्व एसियाका थाइल्यान्ड, बर्मा, लाओसको सीमा क्षेत्र गोल्डेन ट्र्यांगलको नामले परिचित छन् ।

अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक, यमन अफ्रिकाका देशहरू लिबिया, सुडान, सोमालिया, माली, कंगोमा भइरहेको गृहयुद्धमा अल काइदा, तालिवान, बोको हरामले आतंकवाद गतिविधिको लागि हातहतियार खरिद गर्न तेलबाहेकको आर्थिक स्रोतमा हेरोइनको व्यापार पनि हो ।

लागू औषध तस्करमा अवरोध हटाउन आर्थिक स्रोतको प्रयोग र राजनीतिक चलखेल गरी राज्य शासनमा आफ्नो अनुकूलको राजनीतिक नेतृत्व ल्याउन, सुरक्षा अधिकारीलाई रकम दिएर खरिद गर्ने, विरोधीहरूको हत्या जस्ता आतंककारी गतिविधिलाई नार्कोटेररिज्म भन्दछ । लागू औषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक सञ्जाल विस्तार गर्नेदेखि लिएर राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक प्रभुत्व कायम गर्ने गतिविधिमा प्रयोग हुने गरिएको छ ।

कोकिन दक्षिण अमेरिकाको एन्डियन देशहरू बोलिभिया, कोलम्बिया, पेरुमा उत्पादन हुन्छ । कोकाको पातलाई प्रशोधन गरेर कोकिन बनाइन्छ । कोकिनको मूल्य अत्यधिक भएकाले धनी राष्ट्रहरूमा तस्कर हुने र धनाढ्य वर्गले नै दुव्र्यसन गर्दछ । यसैले कोकिनलाई धनी (रिच, एलिट ड्रग) लागू औषध भनिन्छ ।

कोलम्बियाको मेडलिन र क्याली कार्टेल संगठित अपराध समूहहरूले कोकिन तस्कर गर्ने गर्दथे । सन् १९९० मा अमेरिका र स्थानीय सरकारको कारबाहीमा कार्टेलहरू छिन्नभिन्न भए । हाल मेक्सिकोका संगठित अपराध समूहका लागू औषध बादशाहहरू एल चापो, पाब्लो एस्कोबार, ग्रिजिल ब्लान्कोको समूहहरूले कोकिन व्यापार गरिरहेका छन् ।

नेपालमा दुर्व्यसन हुने हेरोइन शुद्ध सेतो, कच्चा खैरो ब्राउन सुगर गाँजा, चरेस, भाङ, निट्राजेपाम, नाइट्रोसन, कोरेक्स, डाइजेपाम, मर्फिन, मेथाडोन र अन्य मनोदीपक सब्सटान्सहरू एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसी पर्छन् ।

नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीहरूको संख्या एक लाख रहेको आकलन गरिएको छ । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् । स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको छ ।

कोकिनको तस्करी दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै उत्तर अमेरिकामा र कोलम्बियाबाट युरोपमा हुने गरेको छ । यसमा चासोको विषय कोकिन नेपाल ट्रान्जिट भएर जानुको कारण के हुन सक्छ । के नेपालमा कोकिनको माग सुरु भएको हो ? तर कोकिनको अत्यधिक मूल्यको कारणले नेपालमा बजार हुने सम्भावना देखिन्न ।

राष्ट्रको युवा शक्तिको स्रोत तहसनहस हुनु राष्ट्रिय चिन्तनको विषय हो । यसको अवैध तस्करी, बिक्रीवितरण, सेवन स्थानहरू, डिस्को, डान्सबारहरूमा भइरहेको निगरानी, नियन्त्रण कारबाहीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

कोकिन तस्करहरूले उडान गर्ने एयरपोर्टमा आएर अकस्मात चेक इन गर्नभन्दा पहिला आफ्नो फ्लाइटको गन्तव्य परिवर्तन गर्ने कार्यविधि अपनाएकाले निर्धारित गन्तव्य र उडान गर्न लागेको एयरपोर्टमा खतरा महसुस गरी नेपाल आएको हुन सक्छ । उत्तेजनात्मक लागू औषध एम्फेटामिन नेपालमा दुव्र्यसन हुने गरेको छ ।

एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसी, लभ ड्रग, आईसले चिनिने कृत्रिम मनोदीपक लागू औषधहरू कोकिनको विकल्पको रूपमा दुव्र्यसन हुने गरेको छ । यी लागू औषध सस्तोमा पाइन्छ,, सेवनकर्ताको शारीरिक र मानसिक पक्षमा स्फूर्त बनाइदिन्छ, लाज हटाइदिने, नाचगान गर्न, भयरहित हुन, निद्रा नलाग्ने, आक्रामक हुने, भोक नलाग्ने, बढी बोल्ने, चनाखो हुने, सुखबोध गर्ने जस्ता परिवर्तन गरिदिने भएकाले युवायुवतीले सेवन गर्छ । युवा अवस्थाका छोराछोरीको स्वभावमा अचानक असामान्य परिवर्तन देखिएमा अभिभावकहरू होसियार हुन आवश्यक छ ।

उत्तेजनात्मक लागू औषध सेवनले सेवनकर्ताको रक्तचाप उच्च, मष्तिष्क र कानको सेलमा क्षति गर्ने, मानसिक उन्माद, आत्महत्या गर्ने, हृदयघात हुने, कलेजो, मिर्गौला र फोक्सोको स्वास–प्रश्वासमा समस्या हुने, पौष्टिकताको कमी हुने समस्या हुन्छ । पुरुषमा इम्पोटेन्सी भएर बच्चा जन्माउन अक्षम हुन्छ । सेवनकर्ताको व्यवहारमा आक्रमक भई अप्रिय घटना हुने गर्दछ ।

एम्फेटामिन दुव्र्यसन गर्ने बाबु, आमाबाट जन्मने बालक जन्मँदै दुव्र्यसन सिकारको पीडित, सुस्त मनस्थिति रोगहरूबाट ग्रसित हुने गरेको छ । लागू औषध बढी परिमाण ( ओभर डोज) मा सेवन गर्न बाध्य भएर मृत्यु हुन सक्छ । यस लागू औषधलाई बजारिया भाषामा आईस, ई, एक्सट्यासी, लभ ड्रग, स्पिड, फास्ट नामले चिनिन्छ । यौन व्यवसायीहरूले औषधी प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरेर प्राणघातक रोगहरू सर्ने गर्छ ।

लागू औषधको दुव्र्यसनीहरूको संख्या २०१४ मा दुई अर्ब नौ करोड र प्रतिवर्ष दुई लाख दुव्र्यसनीहरू मृत्यु हुने गरेको देखिन्छ । दुव्र्यसनीहरू २०५० सम्ममा २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । साथीहरूको दबाब, विरक्तता, उत्सुकता, असफल, अप्ठ्यारा परिस्थितिबाट पन्छिन खोज्ने युवालाई लागू औषध बिक्री गर्नेहरूले समस्या समाधान हुने गलत सल्लाह दिएर क्षणिक आनन्द प्राप्तिका लागि सेवन गराउने गर्छन् ।

एम्फोमिनको असरलार्ई अंग्रेजीमा ‘युफोरिया’ सुखबोध भन्छन् । चिकित्सा विज्ञानअनुसार मानवको मस्तिष्कमा सेरोटोनिन र एन्डोरफिन्स दुई प्रकारका रासायनहरू बन्छन्, जसले मानवको मनस्थिति, भावना, स्वभाव पीडा र आवेगमा असर गर्दछ । यस प्रकारको लागू औषधले रासायनिक पदार्थले असर गरेजस्तै गर्दछ ।

त्यही प्रकारको असर गर्ने लागू औषध सेवन गरेमा मस्तिष्कमा रहेको रासायनहरू बनाउने ग्लान्डहरू निस्क्रिय हुन जान्छ । फलस्वरूप सेवनकर्ताले मानसिक र शारीरिक रूपमा सामान्य हुनको लागि अनिवार्य र नियमित रूपमा लागू औषध सेवन गर्नैपर्ने हुन्छ । पूर्वी, दक्षिणपूर्व एसिया र मध्यपूर्व एसियामा कोकिन सेवनकर्ताको संख्या १० लाख रहेको देखिन्छ ।
सन् २०१३ मा पाकिस्तानमा एक टन कोकिन बरामद भएको थियो । यसले भारत, नेपाल, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सका धनाढ्य व्यक्तिहरूमा सेवनकर्ताहरू हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कोलम्बियामा कोकिन खेतीको लागि दुई लाख ९० हजार हेक्टर जमिनमा रहेको जंगल फाँडिएकाले वातावरणमा असर गरेको छ । कोकिन उत्पादन गर्नको लागि प्रशोधन गर्दा उत्पादन हुने रासायनिक खतरनाक तत्त्वहरूले जलवायुमा नकारात्मक असर गर्दछ । एम्फेटामिनले स्फूर्तिपना ल्याउने भएकाले खेल जगत्को शक्तिवद्र्धक खेलहरूमा एथलेटिक्स, टेनिस, बडी बिल्डिङका खेलाडीले दुव्र्यसन गर्ने गरेको पाइन्छ, जसलाई डोपिङ भनिन्छ ।

यसरी डोपिङ गरिने मनोदीपक पदार्थलाई एनाबोलिक एन्ड्रोजेनिक स्टेरोइड भनिन्छ । एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसी, कोकिन जस्ता उत्तेजनात्मक औषधीहरू यही प्रकारका स्टेरोइड हुन् । अन्तर्राष्ट्रिय खेलाडीहरूले यसकोे सेवन गर्नाले खेलजगत् बद्नाम भएको छ ।

ब्राजिलको रियो डे जनेरियो २०१६ मा हुन लागेको ओलम्पिक खेलमा रसियाका ६८ एथलेटिक्स र सातजना पौडीबाज खेलाडीलाई सहभागी हुन प्रतिबन्धित गरेको छ । राष्ट्रको युवा शक्तिको स्रोत तहसनहस हुनु राष्ट्रिय चिन्तनको विषय हो । यसको अवैध तस्करी, बिक्रीवितरण, सेवन स्थानहरू, डिस्को, डान्सबारहरूमा भइरहेको निगरानी, नियन्त्रण कारबाहीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

यसको अवैध उत्पादन बर्माको सान राज्य, थाइल्यान्ड, मलेसिया, लाओस, भारत, चेक रिपब्लिक, जर्मनीमा हुने गर्छ । एम्फेटामिन, मेथाफेटामिन उत्पादन गर्न आवश्यक पर्ने स्युडोएफिड्राइन रसायनको बरामदीले काठमाडौँमै उत्पादन हुने सम्भावना देखिन्छ ।

निषेधित प्रिकर्सर रसायनको तस्करी, आयात र सशंकित फार्मेसीहरूमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, भन्सार विभाग र लागू औषध ब्युरो, सीमा सुरक्षा निकायको संयुक्त टोलीले चेकजाँच कार्यलाई नियमित र प्रभावकारी गर्न आवश्यक छ । हाल आतंकवादको शृंखलाबद्ध घटना र लक्षित गरिएका लक्षहरू आम नागरिक र निजी भौतिक संरचनाहरू निशानामा छन् ।

तसर्थ नेपाल, भारतको खुला सिमाना र चाइनाको सीमा संवेदनशील छन् । आतंकवादी गतिविधिको निशानामा नेपालमा अवस्थित विदेशी नियोगहरू, पर्यटकहरूलाई निशाना नबनाउला, छिमेकी मुलुकहरू भारत र चीनको राष्ट्रिय सुरक्षामा खतरा हुने गतिविधि नगर्ला भन्ने निश्चिन्त हुनसक्ने ठोस आधार छैन । खुला सीमाको महत्त्वपूर्ण नाकाहरूमा, विमानस्थलहरूमा लागूऔषध, विस्फोटक पदार्थ जाँच गर्ने उपकरण, निगरानी र एक्सरेजडित गाडी राख्न र खतराको सम्भाव्य स्थानहरूको सुरक्षा अवस्था पुनर्मूल्यांकन हुन र इन्टेलिजेन्सलाई प्रभावकारी बनाउन आवश्यक छ ।

लागू औषध नियन्त्रण गर्न सुरक्षा निकायले गरेका प्रयासमा अभिभावक, सामाजिक संस्था, आम नागरिकको सकारात्मक भूमिका र सहयोग अत्यावश्यक हुन्छ । जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउन आवश्यक छ । यस किसिमको परिस्थितिमा प्रथमतः दुव्र्यसनीहरूलाई सल्लाह र उपचारको आवश्यक हुन्छ । क्षणिक आनन्दमा फसेर जिउँदो लास बनी परिवार र समाजबाट तिरस्कृत भई अमूल्य जीवनलाई नाश नगर्नु होस् । लागू औषध त्याग्न तपाईंको उत्सुकता, इच्छा र निर्णय नियन्त्रण गर्ने शक्तिमा निर्भर गर्छ ।

-पूर्व सशस्त्र प्रहरी महानिरीक्षक लामा पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया