- सुरञ्जन घिमिरे

चिलाउनेका चिर्पट निकालेर कान्छाले गोठको सानो अगेनामा आगो जो¥यो ।
महिनौंदेखिको आगोको ज्वालाले कालो भइसकेको कित्लीमा कालै चिया बसायो ।
अगेनाबाट धुँवा पुत्पुतायो ।
नखाई पनि सक्दैन । चिया खाने बानी लागिसक्यो ।
केहीबेमै चिया उम्लियो ।
एक हातमा चियाको बोटुको समाउँदै बाहिर खेततिर नजर लगायो ।
खेतबाट हरिया मकैको बास्ना फैलिरहेको थियो ।
बास्ना फैलिएर मात्र के गर्नू ! यो वर्ष पनि मकैले पाहोरतिरकै चाला देखाउने भए ।
सर्पेलाजस्तो बोट कुनै छैनन् ।
सरकारी अनुदानमा पाएको बिऊ भए पनि धानचमरमात्रै बस्छ । घोगा लाग्ने होइन ! कान्छो विचार्छ ।
गोरुलाई साँझ पर्नुअघि गोठमा बाँधेर कान्छो घर फर्किसक्नु छ ।
आकासले आज पानी पर्ने सङ्केत दिइसकेको कान्छो सहजै बुझ्छ ।
र, हतार–हतार चिया खाएर गोरु गोठमा बाँधेर घरतिर लाग्छ ।
आकासमा कालो बादल मढारिरहेको छ । कुनबेला आकास फाट्ने हो ठेगान छैन ।
“कान्छा ढोका खुल्लै र’ छ घरमा कोही नभएकाले म पिँढिमै उभिरहेको,” सहरबाट भर्खरै आएको दाजुले भन्छ ।
“ढोका खुल्लै थियो, दाजु भित्रै बसेको भए भइहाल्थ्यो नि,” कान्छो हर्षित देखिन्छ, “केही खबर नगरी एक्कासी आयौ दाजु ?”
केहीबेरमै दुवैजना भित्र पसे ।
कान्छाले आगेनामा आगो जो¥यो । र, चिया बसायो ।
“पहिला घरमा टीभी हुँदा तिम्रो समाचार दिनहुँ हेर्थे दाजु । टीभीमा खुब देखिन्थ्यौ तिमी,” कान्छाले सुनायो ।
कान्छाको कुराले जेठाको मनमा च्वास्सै घोच्यो !
“अनि अचेल ?” जेठाले प्रश्न ग¥यो ।
“अचेल त टीभी नै बिग्रेको छ,” कान्छाले भन्यो ।
जेठालाई लागेको थियो– कान्छाले जुनसुकै समयमा घरका हरचिज ठिकसँग राख्नसक्छ ।
तर, घरको बिग्रिएको टीभी बनाउन नसकेको सुन्दा जेठो गहिरो आश्चर्यमा पर्छ ।
“अनि किन नबनाएको त कान्छा ?” जेठो सोध्छ ।
बा, आमा मरेपछि कान्छालाई जिन्दगीको रस छैन ।
जेठालाई पढाउँदा र बुझाउँदै कान्छाले रोजेको जिन्दगी पाएन ।
कान्छो साच्थ्यो– दाजुलाई पढाउँछु, बुझाउँछु र संसार चिनाउँछु । यसका लागि कान्छाको त्याग सानो थिएन ।
तर, सहर पसेको केही वर्षमै जेठाले पुरानो गन्तव्य छोडिसकेको थियो ।
पेशाले पत्रकार ऊ बजारमा आएका नयाँ किताबसँग जानकारसम्म हुन छोडिसकेको थियो ।
“यस्तै केही मिलिरहेको छैन,” कान्छो निरश बन्छ, “एक्लै पनि छु । टीभी हेर्नमा त्यस्तो मज्जा पनि लाग्दैन । फेरि तिमी पनि अचेल टीभीमा त्यती देखिँदैनौं ।”
“मैले पत्रकारिता छोडेँ कान्छा,” जेठो सत्यता बताउन खोज्छ तर सक्दैन ।
बेलुका खाना खाइवरी दुवैजना सुते ।
खानामा खेतको धानको भातमा धनियाँ मिसाएको टमाटरको अचार र मुसुरीको दाल थियो ।
साँझको कालो बादल वर्षेरै छोड्यो ।
दाजु आएका दिन बादलको झोल नओइरियोस् भन्ने कान्छाको कामना पुरा भएन ।
पानी प¥यो । छानो चुहियो । दुवैलाई अलिअलि भिजायो ।
रातिको भिजाइपछि जेठाकान्छाको बिहानको उठाई केही ढिलो भयो ।
दुवैजना सँगै उठ्छन् ।
जेठो मुख धुन धारातिर जान्छ ।
वर्षौंअघि छोडेको घर जेठोलाई बिरानो लाग्छ ।
कतै घरले पो जेठालाई बिरानो सम्झेको हो कि !
बिहानपखको यो एक्लोपन जेठो कतै गएर पोख्न सक्दैन ।
खोइ कहाँ गयो गाईको गोठ । कहाँ गए बाख्राहरु । रछ्यानमा टमाटारको लहरो खोइ ? जेठो सोच्छ ।
“हात धोउ दाजु,” लोटाहामा पानी दिँदै कान्छो भन्छ, “भात खान आउ ।”
अगेनाका छेउमा बसेर दुवैजना भात खान थाल्छन् ।
“आमा, बाले छोडेर गएपछि तिमी बल्ल घर आयौ दाजु । पत्रकार मान्छे सधैं व्यस्त है !” जेठालाई गाली गर्न पनि सक्थ्यो तर कान्छाले सहानुभूति देखायो ।
“त्यस्तो खासै व्यस्त त होइन, अफिसमा बिदा मागेर आउँदा पनि हुन्थ्यो । तर खोइ म किन आउन सकिनँ या आउन चाहिनँ मलाई नै थाहा छैन,” जेठाले भन्यो ।
कति सजिलो । कति मजा । कति सरल । र, कति सहजै भन्यो जेठाले ।
“ठीकै पनि हो दाजु । देशमा हरेक दिन मान्छे मरेकै छन्,” खाँदै गरेको भात छोडेर रुँदै उठ्यो कान्छो ।
जेठो छक्क परेर कान्छो हिँडेकोतिर हे¥यो ।
जेठाले आफ्ना बा, आमाको मृत्युको समवेदना आँक्न सकेन ।
घरबाट सम्पादक बन्न भनेर सहर पसेको ऊ आफ्ना बा, आमाको मृत्युको समाचारलाई कति कोलममा, कुन पेजमा छाप्न सकिन्छ भन्ने विचारसम्म त गर्न सक्थ्यो होला ।
तर जेठो आफ्नो पुरानो लक्ष्यको लयबाट विचलित भइसकेको थियो ।
त्यसैले उक्त घटनालाई जेठाको विचलित मनले आँक्न समेन ।
“मलाई लाग्यो तिमी कुनै विदेश भ्रमणमा थियौं होला । या कुनै महत्वपूर्ण रिपोर्टिङमा,” कान्छाले आँसु पुस्दै भन्यो, “नत्र त बा, आमाको त्यस्तो घटनामा तिमी आइहाल्थ्यौं ।”
जेठो सहर पसेको केहीवर्ष कान्छाले घरको सबै काम ग¥थ्यो ।
बाको खुब भरथेग पाएको थियो कान्छाले । आमाको माया उस्तै ।
तर, दुवैको अवशानपछि कान्छाको मनबाट आशाको ओज अस्ताएको थियो ।
जेठालाई सहरमा लागिरहन्थ्यो– मैले थोरै बिराउँदा हुन्छ । मैले थोरै नगर्दा हुन्छ । म जिम्मेवारबाट पन्सिदा हुन्छ । र म नपुग्दा पनि हुन्छ ।
सबै कान्छाले थपिहाल्छ । कान्छाले सच्याइहाल्छ । कान्छाले पुरा गरिहाल्छ । कान्छो पुग्छ ।
तर, वर्षौंपछि घर आउँदा जेठाले त्यस्तो केही पाएन, जस्तो सम्झेको थियो ।
जेठो यस पटकको घर बसाइलाई रमाइलो बनाउने विचारमा थियो ।
कान्छाले ठूलो घर बनाएको हुनेछ । त्यसमा सहरकैजस्तो ट्वाइलेट, बाथरुम हुनेछ । भान्साको फ्रिजमा रसिला फलफूल हुनेछन् । कान्छाले कार किनेको हुनेछ । समाजमा उसको अलग मान हुनेछ ।
यी सबैको उपभोग गर्न मैले पाइहाल्छु । उसको सादगी व्यवहारबाट म पनि एकाध नमस्ते पाइल्छु ।
तर, वर्षौंपछि घर आउँदा जेठाले त्यस्तो केही पाएन, जस्तो सोचेको थियो ।
“म खासमा तिमीलाई भेट्न आएको थिएँ कान्छा,” जेठाले जिज्ञासामात्र दर्सायो । थप केही भन्न सकेन ।
“भेट्यौ दाजु । भन बरु सम्पादक बन्ने तिम्रो लक्ष्य कहाँ पुग्यो ?” कान्छाले सुस्केरा हाल्यो, “हरेक वर्खा चुहिने हाम्रो यो घरको छानो टाल्न पनि मैले कहिल्यै सकिनँ । हरेक झरीमा म हाम्रो बाल्यकाल सम्झिन्छु दाजु । जतिबेला आकास गड्याङगुडुङ ग¥यो कि म तिम्रो अङ्गालोमा टिमिक्कै टाँस्सिन्थेँ ।”
सहर पसेको यत्तिका वर्षमा आफूले गरेको प्रगति जेठाले सर्सति सम्झियो । घरबाट हिँड्दाको त्यो लक्ष्य सहरको कुन गल्लीमा कहाँ छुट्यो जेठो टोलायो ।
“घरको पानी चुहिनो छानोबाट वाक्क भएर ओभानो खोज्दै सहर पसेको म । त्यस्तो कुनै ओभानो भेट्टाउन सकिनँ कान्छा,” जेठाले परेलाले आँसु रोक्दै भन्यो, “म अब फेरि सहर पस्छु र छुटेको लक्ष्यतर्फ बढ्छु । ओभानो खोजेर ओभानो नपाइने रहेछ कान्छा । झरीसँग जुझ्छु ।”
जेठो आफूलाई जिम्मेवार र गैरजिम्मेवार एकसाथ सम्झिदै पुनः सहरतिर लाग्यो ।

तपाईको प्रतिक्रिया